
२२ माघ, काठमाडौं । विदेशमा बस्ने नेपालीहरुले सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा ‘ज्यादति’ गरिरहेको आरोप लगाएका छन्। विरोधको साथसाथै सरकारलाइ यो ज्यादती रोक्न पनि सरकारसँग माग गरेका छन्। विदेशमा बस्ने नेपालीहरु यति बेला सामाजिक संजालमा खनिएका छन् र आलोचना गर्नेको संख्या निक्कै बढ्दो छ। सरकारले झिटिगुन्टा आदेशलाइ सच्च्याउनु पर्ने र गरिबको पसिना यसरी चुस्न पाइदैन भन्ने जस्ता कुराको उठान गर्दै सामाजिक संजाल यतिबेला निक्कै नै तत्तिएको छ। सरकारले सोमबार मात्रै विदेशबाट भित्रिएका सबै समान जफत गरि लिलामी प्रक्रियामा गई २ करोडभन्दा बढि मुल्यको सुची तयार गरेको छ।
साउदीबाट सन्देश ताम्राकारले लेखेका छन्,’३३ किलो सुनको अत्तो पत्तो छैन, तर हामी गरिबले खुन पसिना एक गरेर कमाएको पैसाले आफ्नो परिवारलाई एउटा मोबाइल र अलिकति सुन ल्याउँदा पनि खोसेर यसरी लिलामीमा राख्ने ? जसको दुःख र पसिनाको कमाई थियो नि, पक्कै पनि उनिहरूको आँशुले चाँहि सराप्ने छ ।’ कतिपयले सरकारको यो कामलाई रेमिट्यान्स पठाउने नेपाली माथिको अपमान गरेको र घरपरिवार साथिभाइका लागि ल्याएको थोरै र सानो उपहारहरुलाई खुला गर्न माग गरेका छन् । विशेषगरी रक्सी र मोबाइल ल्याउन कडाइ गरिएकोले धेरैले आपत्ति जनाएका छन् ।
‘बरु विदेशबाट आफ्नो जन्मथलो आउने नेपालीहरुबाट विदेशी पैसा चन्दा माग सरकार, आफ्नो परिवारलाई भनेर ल्याइएको एक बोतल रक्सी र एउटा मोबाइल छापामार शैलीमा नखोस,’ इटालीबाट एन के निर्दोषले लेखेका छन् ।
सरकारले क्रिकेट ब्यागसमेत जफत गरेको खबर सुनेपछि कुवेतबाट बद्री आचार्य भन्छन्,’ एउटा बाबुले आफ्नो छोरालाई सन्दिप लामिछाने बनाउँछु भन्ने सपना देखेर लिएर जाने ब्याग पनि खोसेको सुन्दा नरमाइलो लाग्यो ।’
जापानबाट पुरुषोत्तम अधिकारीको गुनासो पनि उस्तै छ । उनी झिटिगुन्टा आदेशलाई विदेशमा काम गर्ने नेपाली र पढ्ने विद्यार्थी मैत्री बनाउनुपर्ने बताउँछन् ।
‘कामदार र विद्यार्थी भिसामा गएर फर्किएकाहरुलाई अलि फरक दृष्टिबाट हेर्नुपर्छ, उसले ब्यापारिक प्रयोजनले समान बोकेर पक्कै फर्किँदैन,’ उनी भन्छन् । सरकारले घुम्न विदेश जानेमाथि थप कडाइ गर्दा फरक नपर्ने उनको भनाइ छ ।
बहारइनबाट सुजन घिमिरेको आक्रोश पनि फरक छैन । उनी देशभित्र अवसर नपाएर विदेशिएका युवाले ल्याउने जुत्ता र कपडामा पनि सरकारले गिद्दे नजर लगाउनु ठीक नभएको उनको भनाइ छ ।
उनी भन्सार नै उठ्छ भनेर सोच्ने भए काठको बाकसमा फर्किने कामदारको शबमा पनि भन्सार लगाएर देखाउन सरकारलाई चुनौति दिन्छन् ।
‘श्रम मन्त्रीज्युको चिप्लो कुरा सुन्छौं, अर्थमन्त्रीज्यु हाम्रो पसिना जफत गरेर लिलामीमा राख्नुहुन्छ,’ घिमिरे ब्यंग्य कस्दै भन्छन्,’ हामीले ल्याएको समानबाट २ करोड राजश्व उठाएर सरकारलाई राहत हुन्छ भने कफिनको माैत्र हैन, ज्युँदै मान्छे स्वदेश फर्किएको पनि कर लगाउँद हुन्छ ।’
सरकारले भन्सार राजश्वमा असर परेको भन्दै विदेशबाट फर्किने नेपालीले ल्याउने सामानमा कडाइ रहेको हो ।
तर, प्रवासमा रहेका नेपालीहरुले रेमिट्यान्स पठाएको बदलामा सरकारले सम्मानित गर्नुपर्ने अवस्थामा थप अपमानित गर्ने काम गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।
कतिपयले विदशेमा हुनेसँग चुनावमा भोट हाल्ने अधिकार नभएका कारण पनि यस्तो गरिएको टिप्पणी गरेका छन् ।
युएईबाट मिन रानभाट लेख्छन्, ‘अब रेमिटेन्स होलिडे मनाउनु पर्छ, लुटेरा झैँ बनेको सरकारलाई सबक सिकाउनै पर्ने भयो ।’
तुलनात्मक रुपमा विदेशबाट ठूलो परिमाणमा रक्सी ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा कडाइ गरिएको विमानस्थल भन्सार प्रमुख चुँडाराज सापकोटाले बताउँछन् ।
सरकारको झिटिगुन्टा आदेशअनुसार मात्रै सामान ल्याउन उनले आग्रह गरेका छन् । झिटीगुन्टा आदेशमा तोकिएको भन्दा बढी सामान ल्याए सीधै जफत गर्न थालिएको छ ।
सरकारले विदेशबाट फर्किनेहरुले ल्याउने विभिन्न वस्तुमा भन्सार लाग्ने ब्यवस्था गरेको छ । कतिपय सामान ल्याउनै पाइँदैन भने केही सामान भन्सार नतिरी पनि ल्याउन पाइन्छ । कतिपयको भन्सार तिर्नुपर्छ । त्यसैले एयरपोर्टमा आएर झन्झट ब्यहोर्नुभन्दा पहिले जानकारी लिन अनुरोध गर्छन् भन्सार प्रमुख सापकोटा ।
पछिल्ला दिनमा परिमाण मिचेर रक्सी र अरु सामान ल्याउने क्रम बढ्दै गएपछि जफत गर्न सुरु गरिएको छ । ‘विदेशबाट आउँदा घरमा केही सामान लिएर फर्किने मन सबैलाई हुन्छ,’ सापकोटाले भन्छन्, ‘कानुनअनुसार ल्याउनुभयो भने समस्या पर्दैन । ‘
विदेशबाट फर्किने धेरैले टिभी, मोबाइल, गहना लगायतका सामग्री ल्याउँछन् । तोकिएको भन्दा बढी ल्याए सामान सीधै जफत हने वा महंगो भन्सार तिर्नुपर्ने पनि हुनसक्छ ।